Monday, October 2, 2017

भिजिट भिसामा युएई पुर्‍याइएका २३ नेपाली अलपत्र, म्यानपावरनै तस्कर

असोज १६ ,काठमाडौं – जागिर लगाइदिने भन्दै मोटो रकम लिएर युएई पुर्‍याइएका २३ जना नेपाली अलपत्र परेका छन् । उनीहरुलाई दलालले भिजिट भिसामा अढाई महिना अघि युएई ल्याएर अजमानको एउटा कोठामा बन्दी बनाएर राखेका थिए । 


पीडितहरुलाई काठमाडौंको धुम्बाराहीमा रहेकाे पानडोरा इनकर्पोरेसन प्रालिले युएई पठाएको हो । म्यानपावर कम्पनीका एक्ज्युकेटिभ डाइरेक्टर केशव थापा, रमेश कुँवर र दिनेश लामा मोक्तानले उनीहरुलाई युएई ल्याएका हुन् । 






















अलपत्र पर्नेहरुमा काभ्रेका नरेश तामाङ, सिन्धुपाल्चोकका फुन्जो तामाङ, बाग्लुङका राजु थापा, इन्द्र थापा, गोरखाका उज्वल घले र चन्द्र हादुर गुरुङ तथा तनहुँका ज्ञानबहादुर तामाङ छन् । उनीहरु सबै म्यानपावरका सञ्चालक केशव थापा मार्फत युएई आएका हुन् । 
त्यस्तै मकवानपुरका भिमबहादुर बम्जन, सिमोन बम्जन, सुन्दर तामाङ, सुनिल राउत, दिपेन्द्र सम्देन, प्रकाश मोक्तान, सुकुराम थिङ, नवराज लो, सल्यानका कमल बुढाथोकी, बाँकेका तुलसीप्रसाद शर्मा, नवलपरासीका कृष्ण भुजेल छन् । उनीहरु सबैलाई म्यानपावरकै एजेन्ट दिनेश लामा मोक्तानले युएई ल्याएका हुन् ।
अलपत्र पर्नेमा मोरङका विष्णुकुमार खवास, धादिङका उत्तम तामाङ, राजु तामाङ र रुकुमका बालकृष्ण ओली र गोरखाका विपिन कुँवर पनि छन् । उनीहरु मध्ये गोरखाका विपिन कुँवरको भिसा सकिएर ‘ओभरस्टे’ भएको पनि ४५ दिन पुगिसकेको छ । 
अलपत्रमध्ये हेटौंडाका सोमिन बम्जनको पासपोर्ट हराएको छ । उनीहरुलाई युएईका एजेन्ट रमेश कुँवरले भिजिट भिसामा युएई ल्याएका हुन् । उनले प्रतिव्यक्ति ४ देखी ५ लाख रुपैयाँसम्म असुलेका छन् । कुँवर युएईमा बसेर मानव तस्कर गर्ने गिरोहका मुख्य नाइके हुन् । 
युएईमा सेक्युरिटी गार्ड, माछा प्याकिङ, सेल्सम्यान, क्लिनरजस्ता काममा मासिक न्युनतम तीन हजार दिर्हाम कमाइ हुने भन्दै प्रलोभनमा पारेर भिजिट भिसामा मानव तस्करीको शैलीमा उनीहरुलाई युएई ल्याईएको हो । 
चाडबाडको बेला भोकभोकै एउटा साँघुरो कोठामा २२ जना युवालाई कोचेर राखेको र अलपत्र पारेकोबारे पीडितहरुको निवेदन दिएपछि युएईका लागि श्रमसहचारी हिराकुमारी यादवसँगै आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा, नेपाल पत्रकार महासंघ युएई शाखाका अध्यक्ष भुपराज बस्याल, एनआरएन युएईका केन्द्रीय सदस्य दिनेश पराजुली र सोसियल क्लबका सालिक सुवेदी सहितको टोली पीडितहरुको उद्दारका लागि अजमान पुगेको थियो ।
वैदेशिक रोजगार ऐन अनुसार म्यानपावर कम्पनीले कामदार भिसा बाहेक भिजिट भिसा अथवा पर्यटक बनाएर अन्य देशमा ओसारपोसार गर्न पाउँदैन । तर पछिल्लो समय केही म्यानपावरले नै भिजिट भिसामा मानवतस्करी गरिरहेका छन् ।
भिजिट भिसामा कुनै देश जाँदा नेपालको अध्यामनगलाई एक हजार डलरसम्म अनिवार्य देखाउनु पर्छ । डलर सटहीको स्रोत समेत देखाउनु पर्ने व्यवस्था भएपनि दलालले अध्यामगनमा सेटिङ गराएर युएई ल्याएका हुन् । 
उनीहरु मध्ये कतिपय प्रतिबन्धित मुलुक इराक जाने भन्दै युएई आएका छन् । दाइ पर्ने एजेन्ट दिनेश लामा मोक्तानलाई ४ लाख रुपैयाँ बुझाएको हेटौंडाका प्रकाश मोक्तानले बताउनुभयो । म्यानपावर व्यवसायीनै मानव तस्करका मुख्य नाइके र सरकारी निकायका प्रमुखहरु तिनीहरुको संरक्षक देखिएकाले भिजिट भिसामा युएई पुर्‍याएर ठग्ने क्रम बढेको हो । 
नेपाली दूतावास आबुधाबीकी श्रमसहचारी हिराकुमारी यादवसँगै उद्धारका लागि पुगेको टोलीले अलपत्र नेपालीलाई एक हप्ता भित्र पठाउने गरी दलालको विवरण लिएर छोडेको छ । भिजिट भिसामा तस्करी गर्ने रमेश कुँवरका भाइ विपिन कुँवर दूतावास र एनआरएनको सम्पर्कमा छन् । पीडितहरुले दलाललाई कारवाही गरी क्षतिपूर्ति तथा घर फिर्तीका लागि पहल गरिदिन अनुरोध गरेका छन् । 
अलपत्र परेका २३ जनालाई बस्दै आएको कोठाबाट दसैँको टिकाका दिन मध्यरातमा निकालिए पछि एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठले आफ्नै कम्पनीमा आश्रय दिएर राख्नु भएको छ । अध्यक्ष श्रेष्ठ र युवा संयोजक नविन पौडेलले अलपत्र २३ जनालाई सोमबार नेपाली दूतावास पुर्‍याउँदै छन् । 
साभार:- उज्यालो अनलाइन 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...