Wednesday, November 1, 2017

बलिउडमा नदोहोरिएको हिट जोडी

काठमाडौं,१६ कार्तिक । 
बलिउडमा केही सेलेब्रिटी जोडी यस्ता छन्, जसले पहिलो फिल्म हिट दिए । त्यसपछि फेरि उनीहरू कहिल्यै फिल्ममा सँगै देखिएनन् । पहिलो फिल्ममै दर्शकले मन पराए पनि उनीहरूलाई अन्य फिल्ममा सँगै हेर्न नपाउँदा खल्लो लाग्नु स्वभाविकै हो । भारतीय अनलाइनले यस्ता केही उदाहरणको रिपोर्ट तयार पारेको छ ।
सलमान–भाग्यश्री
सन् १९८९ को फिल्म ‘मैने प्यार किया’मा सलमान खान र भाग्यश्री प्रमुख भूमिकामा थिए । सुरज बरजात्या निर्देशित मैने प्यार किया सुपरहिट भएको थियो । दर्शकले सलमान र भाग्यश्रीलाई अरू फिल्ममा पनि सँगै हेर्न चाहेका थिए । तर, त्यसपछि उनीहरू सँगै देखिएनन् ।
मैने प्यार किया नै भाग्यश्रीको डेब्यु फिल्म हो । उनी पछिल्लोचोटि सन् २००६ मा रिलिज भएको ‘जननी’ फिल्ममा देखिएकी थिइन् ।
सलमान–आयशा
सलमान खान र आयशा टकियाले सँगै अभिनय गरेको पहिलो फिल्म ‘वान्टेड’ सुपरहिट भएको थियो । सन् २००९ मा रिलिज भएको प्रभु देवा निर्देशित वान्टेडबाट दर्शकले सलमान र आयशाको जोडी निकै मन पराएका थिए । तर, त्यसपछि उनीहरू अरू फिल्ममा सँगै देखिएनन् ।
अब सलमानको ‘टाइगर जिन्दा है’ प्रदर्शनको तयारीमा छ । तर, आयशा फिल्मविहीन भएको वर्षौ भइसक्यो । बिहे गरेर घरजममा व्यस्त रहेकी आयशालाई पुनः फिल्ममा हेर्न पाइने चान्स भने निकै कम छ । सन् २०१३ को ‘आप के लिए हम’ फिल्मपछि आशया पर्दामा देखिएकी छैनन् ।
शाहरुख र महिमा
बलिउड बादशाह खान शाहरुख र महिमा चौधरी पहिलोपटक ‘परदेश’ फिल्ममा सँगै देखिएका थिए । सन् १९९७ मा रिलिज भएको परदेश सुपरहिट भएको थियो । शाहरुख र महिमाको सह–अभिनयलाई दर्शकले स्विकारेका थिए । तर, त्यसपछि उनीहरू सँगै अर्काे फिल्ममा देखिएनन् । सुभाष घई निर्देशित यही फिल्मबाट महिमा बलिउडमा डेब्यु गरेकी हुन् ।
सन् २००५ मा रिलिज भएको महिमा अभिनीत ‘कुछ मीठा हो जाय’ फिल्ममा भने शाहरुखले केमियो गरेका थिए । त्यसपछि केही फिल्ममा अभिनय गरे पनि पछिल्लो समय महिमाको हातमा फिल्म पर्ने गरेका छैनन् । उनी पछिल्लोपटक सन् २०१६ मा ‘डार्क चक्लेट’ नामक फिल्ममा देखिएकी थिइन् ।
अजय–काजल
रोहित सेट्टी निर्देशित सुपरहिट फिल्म ‘सिंघम’मा अजय देवगण र काजल अग्रवाल पहिलोचोटि सँगै देखिएका थिए । सन् २०११ मा रिलिज भएको सिंघमपछि दर्शकले अजय र काजललाई अन्य फिल्ममा पनि सँगै हेर्न चाहे । तर, उनीहरू त्यसपछि अर्काे फिल्ममा सँगै देखिएका छैनन् ।
अजयको अब ‘रेड’ नामक फिल्म रिलिज हुने तयारीमा छ । तर, काजलका हातमा अहिले कुनै हिन्दी फिल्म नपरेको बताइन्छ । दक्षिण भारतीय फिल्ममा व्यस्त काजल पछिल्लोपटक सन् २०१६ मा रिलिज भएको बलिउड फिल्म ‘दो लफजोकी कहानी’मा देखिएकी थिइन् ।
आमिर–असिन
आमिर खान र असिनको जोडी पहिलोपटक सन् २००८ मा रिलिज भएको ‘गजनी’मा देखिएको थियो । गजनी सुपरहिट भएको थियो । तर, त्यसपछि उनीहरू अहिलेसम्म अर्काे फिल्ममा सँगै देखिएका छैनन् । गजनी नै असिनको बलिउड डेब्यु फिल्म हो ।
हालै आमिरको ‘सेक्रेट सुपरस्टार’ रिलिज भयो भने अब उनको ‘ठग्स अफ हिन्दुस्तान’ आउँदै छ । असिनले भने बिहे गरेर घरजममा ध्यान लगाएकी छिन् । उनी अन्तिमपटक सन् २०१५ मा रिलिज भएको ‘अल इज वेल’मा देखिएकी थिइन् ।
आमिर–ग्रेसी
ग्रेसी सिंह पनि आमिर खानसँग दोस्रंोपटक पर्दामा आइनन् । आमिर र ग्रेसीले सन् २००१ को सुपरहिट फिल्म ‘लगान’मा पहिलोपटक सँगै स्क्रिन सेयर गरेका थिए । लगान नै ग्रेसीको डेब्यु फिल्म हो । त्यसपछि केही फिल्ममा अभिनय गरे पनि ग्रेसी अन्ततः हिरोइनका रूपमा जम्न भने सकिनन् ।
सञ्जय–ग्रेसी
निर्देशक राजकुमार हिरानीको सुपरहिट फिल्म ‘मुन्नाभाइ एमबिबिएस’मा पहिलोपटक सञ्जय दत्त र ग्रेसी सिंहको जोडी देखिएको थियो । सन् २००३ मा रिलिज भएको यो फिल्मलाई दर्शकले निकै मन पराएका थिए । फिल्मसँगै ग्रेसी पनि चर्चित भएकी थिइन् । तर, त्यसपछि सञ्जय र ग्रेसीले अर्काे फिल्ममा सँगै अभिनय गर्न पाएका छैनन् ।
केही समयअघि ‘भूमि’मार्फत पर्दामा आएका सञ्जयको अब सायद ‘बिबी और ग्याङस्टर’ फिल्म रिलिज हुँदै छ । तर, ग्रेसी भने फिल्मविहीन भएको धेरै भइसक्यो । उनी अचेल ‘सन्तोषी माँ’ टेलिसिरियलमा अभिनय गरिरहेको बताइएको छ ।एजेन्सी/नयाँ पत्रिकाबाट

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...