डडेल्धुरा,१९ असोज । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा नेपाली कांग्रेसभित्र पुन: चर्को विवाद सुरु भएको छ ।
स्थानीय तह निर्वाचनमा पार्टीभित्रकै विवादका कारण जिल्ला सदरमुकामको अमरगढी नगरपालिकालगायतका महत्त्वपूर्ण क्षेत्रमा पराजय व्यहोरेको कांग्रेसभित्र निर्वाचन नजिकिँदै जाँदा विवाद चरम उत्कर्षमा पुगेको हो । डडेल्धुरा कांग्रेसका सभापति कर्ण मल्ल पक्षले देउवानिकट मानिने कांग्रेस नेताहरूलाई पार्टी विधान र निर्णयको पटकपटक अवज्ञा गरेको आरोप लगाउँदै कारबाही सिफारिस गरेपछि विवाद चुलिएको हो । पटकपटक पार्टी निर्णयविपरीत काम गर्दै आएकाले कारबाहीको सिफारिस गरिएको मल्ल पक्षले उल्लेख गरेको छ ।
मल्ल पक्षले देउवानिकट समानुपातिक सांसद नरभान कामी, पूर्वसभापति रघुवर भट्ट, देउवाका पूर्वस्वकीय सचिव गोविन्द बोहरा, नेविसंघ अध्यक्ष नैनसिंह महर, जिल्ला कार्यसमिति सचिव लक्ष्मी अवस्थी, महिला संघ अध्यक्ष मानकुमारी थापा, परशुराम नगरपालिकाका निर्वाचित प्रमुख भीमबहादुर साउद र भागेश्वर गाउँपालिका प्रमुख कौशीला भट्टलाई कारबाही सिफारिस गरेको हो ।
यसैगरी, अमरगढी नगरपालिकामा कांग्रेसबाट मेयर पदका उम्मेदवार डिल्ली जोशी, उपमेयर पदका उम्मेदवार पार्वती झुकाल, कांग्रेसका पूर्व जिल्ला सचिव हेमराज चटौत, दलित नेता चन्द्री टमटालगायत १४ जनालाई समेत कारबाही सिफारिस गरेपछि विवाद उत्कर्षमा पुगेको छ ।
स्थानीय तह निर्वाचनमा अधिकांश क्षेत्रमा अन्तरघातका कारण पार्टीले पराजय व्यहोरेको प्रधानमन्त्री देउवाको गृह जिल्लामा कांग्रेसका दुवै गुटले प्रदेशसभा निर्वाचन र प्रतिनिधिसभा उम्मेदवार पनि बेग्लाबेग्लै सिफारिस गरी केन्द्रमा पठाएका छन् । दुवै पक्षले प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाको नाम सर्वसम्मत सिफारिस गरेका छन् ।
देउवा पक्षीय नेताहरूको बैठकले कांग्रेस नेतृ आरजु देउवाको नाम समानुपातिकमा सिफारिस गरेको छ भने मल्ल पक्षले आरजुको नाम सिफारिस गरेको छैन । प्रदेशसभामा पनि दुवै गुटले अलगअलग नाम टिकटका लागि सिफारिस गरेका छन् ।
कांग्रेस जिल्ला समितिमा पदाधिकारीसहित निर्वाचित २४ सदस्यमध्ये मल्ल पक्षमा ८ जना मात्र देखिएका छन् भने अरू १६ जना गोविन्द बोहरा समूहमा छन् । बुधबार दुवै पक्षका बेग्लाबेग्लै बैठक बसी उम्मेदवारको नाम सिफारिस गरिएको छ ।
‘पार्टीलाई निजी स्वार्थमा प्रयोग गर्ने र धरौटी राख्ने काम भएको छ,’ कारबाही सिफारिसमा परेका बोहराले भने, ‘स्थानीय तहमा सभापति मल्ल पक्षले गरेको अन्तरघातका कारण कांग्रेस पराजित भएको जगजाहेर छ तर उल्टै नेताहरूलाई कारबाहीको सिफारिस गरेर उनले नैतिकहीन काम गरेका छन् ।’ जिल्लामा आउँदो निर्वाचनमा पनि पार्टीलाई हराउने रणनीतिअनुरूप सभापति मल्ल पक्षले काम गरिरहेको आरोप पनि उनले लगाए ।
मल्ल पक्षले भने पार्टी केन्द्रीय समितिको निर्णयलाई पटकपटक अवज्ञा गर्ने, पार्टीका भेला र बैठकमा उपस्थित नहुने, पार्टीले सुम्पेको कुनै पनि जिम्मेवारी पूरा नगर्ने र पार्टी हितविपरीत काम गर्दै आएकाले हदैसम्मको कारबाहीका लागि सिफारिस गरिएको जनाएको छ । कान्तिपुरमा खबर छ ।
No comments:
Post a Comment