असोज २१, २०७४ ,बर्दिया ।।
भरुवा बन्दुक बनाएर बिक्री वितरण गर्ने तीन जनालाई प्रहरीले बर्दियाबाट पक्राउ गरेको छ।
प्रहरीले भरुवा बन्दुक बनाउने उद्योगबाट बारबर्दिया नगरपालिका– १, जमुनियाका तीन जनालाई रंगेहात पक्राउ गरेको हो। विशेष सूचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जको टोलीले तीन थान भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरेको वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) महेशविक्रम शाहले जानकारी दिए।
पक्राउ पर्नेमा बारबर्दिया– १, जमुनियाका ६४ वर्षका भक्तबहादुर सुनार, ५२ वर्षका बलबहादुर सुनार र नेपालगन्ज उपमहानगरपालिका– २० का ४० वर्षका ईन्द्रबहादुर सुनार रहेको एसएसपी शाहले पत्रकार सम्मेलनमा बताए। भक्तबहादुरले आफ्नो घरमा बन्दुक बनाउने उद्योग संचालन गर्दै आएका थिए भने नेपालगन्जका ईन्द्रबहादुर कामीले ग्राहक खोज्ने र बलबहादुरले बन्दुक ग्राहक कहाँ पु¥याउने गर्दै आएका थिए।
‘मुख्य नाइके भक्तबहादुर भए पनि उद्योग संचालनमा सबैको उत्तिकै भूमिका देखिन्छ’, एसएसपी शाहले भने। विशेष सुराकीका आधारमा भक्तबहादुरको घरमा भरुवा बन्दुक बनाउने उद्योग भएको जानकारी पाएपछि छापा मारेर रंगेहात पक्राउ गरिएको उनले बताए। प्रहरीले भरुवा बन्दुक बनाउने उद्योगबाट बन्दुक बनाउन प्रयोग हुने फलामका ससाना टुक्रा, हथौडा, घन, रेती, पंखा, फलाम काट्ने छिनोसमेत बरामद गरेको छ।
उनीहरूले भरुवा बन्दुक बाँके, बर्दिया, सुर्खेत, कैलाली, दाङ, सल्यानसम्म पुर्याउने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध हातहतियार तथा खरखजाना ऐनअनुसार मुद्दा चलाउने तयारी भएको प्रहरीले बताएको छ।
No comments:
Post a Comment