Sunday, October 1, 2017

कोहलपुर-गड्डाचौकी रेलमार्गको डीपीआर निर्माण सुरु, चीनियाँ र कोरियाली कम्पनीले पाए जिम्मा

असोज १५,काठमाडौं। कोहलपुर देखि गड्डाचौकीसम्म रेलमार्ग निर्माणको लागि  डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) निर्माण कार्य सुरु भएको छ।






कोहलपुर देखि सुख्खड सम्म पहिलो खण्ड र सुख्खड देखि गड्डाचौकी सम्म दोस्रो खण्ड बनाई डीपीआर निर्माण कार्य अघि बढाएको रेल विभागका प्रवक्ता प्रकाश भक्त उपाध्यायले जानकारी दिए।




पहिलो खण्ड कोहलपुर-सुख्खडको डीपीआर निर्माणको जिम्मा चीनको परामर्शदाता कम्पनी चाइना रेलवे सियुयान एण्ड डिजार्इ ग्रुप र नेपालको ईआरएमसी सर्भिस प्रा.ली.लार्इ दिईएको छ।

त्यसै गरि दोस्रो खण्ड सुख्खड-गड्डाचौकीको डीपीआरका लागि कोरियाको परामर्शदाता कम्पनी पियुङीगवा र इन्जिनियरिङ कन्सलटेन्ट सहित तीनवटा कम्पनीलाई जिम्मा दिएको विभागले जनाएको छ।

कोहलपुर-सुख्खडको दुरी ९५ किलोमिटर र सुख्खड-गड्डाचौकी ९४ किलोमिटर गरि रेलमार्गको कुल दुरी  १ सय ८९ किलोमिटर रहेको छ।

दुबै खण्डको डीपीआर गत साउन देखि सुरु गरेर १५ महिनाभित्र सम्पन्न गरि विभागलार्इ बुझाउने सहमती भएको उपाध्यायले जानकारी दिए।

पूर्व-पश्चिम रेलमार्गको डीपीआर अर्को वर्ष 
पूर्व-पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि २०७५ मंसिरसम्ममा डीपीआर निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भैरहेको उपाध्यायले जानकारी दिए।

बर्दिवास –सिमरा १ सय ८ किलोमिटर, सिमरा-तानसरिया १ सय २७ किलोमिटर, तानसरिया-बुटवल ६४ किलोमिटर गरि २ सय ९९ किलोमिटरको डीपीआर तयार भएको रेल विभागले जानकारी दिएको छ।



बर्दिबास-इनरुवा १३७ किलोमिटर, इनरुवा-काकडभिट्टा १०३ किलोमिटर सम्मका लागि डीपीआरको काम भैरहेको  छ।

त्यसै गरि बुटवल-लमही १ सय १५ किलोमिटर, लमही-कोहलपुर १ सय २ किलोमिटर, कोहलपुर-सुखड ९५ किलोमिटर, सखड-गड्डाचौकी ९४ किमी गरि कुल ४०६ किमीमा सम्झौता भएर काम अघि बढेको प्रवक्ता उपाध्यायले जानकारी दिए।

कुल ९४५ किलोमिटर लम्बार्इ भएको पूर्व-पश्चिम रेलमार्गका लागि कुल लागत ६९ अर्व ५२ करोड रुपैयाँ अनुमान गरिएको छ।

वन क्षेत्रमा आयोजना निर्माण स्विकृतिमा ढिलार्इ, जग्गा अधिग्रहण, रेखांकन तथा मुअब्जा विवाद र देशमा रेल मार्गसँग सम्बन्धित दक्ष जनशक्तिको अभाव  लगाएतका कारणले रेलमार्ग निर्माणमा ढिलार्इ हुने गरेको विभागका अधिकारीहरु बताउछन्। 

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...