
खनमडा, छचोडा, दुमडा र जिलोडा भ्राण (भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि दिउसेडी मेला सुरु हुने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ। देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम, मध्यपश्चिम तथा छिमेकी देश भारतबाट समेत श्रद्धालु आउने गरेको उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले बताए। डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका–८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन्।
के–के हुन्छ, मेलामा ?
बिहान ४ बजे धार्मिक परम्परागत रुपमा दाइन दमाह, रुइसिंग, विकुल, भोकर, शंख, घण्टा अादि बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवतीको पूजा सुरु हुने पण्डित भोजराज भट्टले बताए। ‘बिहानको पूजाआजा पछि दिउँसो भगवती माताको गाँज मन्दिरलगायत सयौं एकडमा फैलिएको मैदानको विषेश चार स्थानमा बाजागाँजाका साथ घुमाइन्छ’, पण्डित भट्ट भन्छन्,‘बिहान चारवटै गाउँको भ्रणबाट ल्याइएको माताभगवतीको देउरो बेलुका ५ बजेपछि पुनः चारवटै गाउँको भम्रणमा लगी मेला सम्पन्न हुन्छ।’
यस्तो छ किंवदन्ती
२५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको जनविश्वास छ। देहिजातको महत्व र रोचक जात्रा भनेको सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसङ्गी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, सुदूरपश्चिमको लोकप्रिय खाना ‘माँडा’ देहिजाँतमा प्रशस्त देख्न सकिन्छ। तर भगवतीको गाथाको रूपमा गाइने डेउडा भने खेलिँदैन। वर्षमा एक पटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरे दैवीप्रकोप नहुने, सुखप्राप्ति हुने, मनोकामना पूरा हुने जनविश्वास छ।
मेला, व्यापार र भेटघाट
उग्रतारा मेला व्यापार व्यवसाय र आफन्तसँगको भेटघाट हुने मौकाको रूपमा प्रख्यात छ। हराँउदै गएका अन्नबाली फापर, भिमुर, तिललगातय अदुवा, बेसार, चुक, मह, घ्यु, सन्तरा, मौसमी, केरा लगायत स्थानीय स्तरमा उत्पादित विभिन्न वस्तुसँगै मोही बनाउन प्रयोग हुने पाथन, विभिन्न साग र तरकारीको राम्रो व्यापार हुन्छ। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवद्र्धनका लागि पनि मेला प्रसिद्ध छ। उग्रतारा मेलामा बिक्री गर्ने पूर्व योजनाका साथ स्थानीयहरुले विभिन्न बाँस र निगालाका सामग्रीसँगै खाद्य वस्तु एवं कृषि औजार, बेर्ना तयार पार्ने गरेका छन्। मेलामा भारतका विभिन्न स्थानका व्यापारीले मिठाइका परिकार बनाई बिक्री गर्छन्।
जुवातास र मदिरा निषेध
उग्रतारा मेलालाई सभ्य रूपमा सम्पन्न गर्न भन्दै सुरेन्द्रबहादुर साँकीको संयोजकत्वमा मेला व्यवस्थापन समिति गठन गरिएको छ। अापराधिक क्रियाकलाप नियन्त्रणका लागि मेला अवधिभर जुवातास तथा मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय गरिएकोे हो।
No comments:
Post a Comment