Monday, October 30, 2017

उद्योगपति विनोद चौधरी कांग्रेसमा प्रवेश …..........

काठमाडौं, १४ कार्तिक । फोब्र्स पत्रिकामा अर्बपतिको सूचीमा रहेका एक मात्र नेपाली विनोद चौधरी नेपाली कांग्रेस प्रवेश गरेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको आग्रहमा उनी पार्टी प्रवेश गरेका हुन् । देउवाले मुलुकको समृद्धिका लागि योगदान आवश्यक भन्दै चौधरीलाई पत्र लेखेर कांग्रेसमा आउन आग्रह गरेका थिए ।
२०६४ को संविधानसभा निर्वाचनपछि एमाले कोटामा सभासद भएका चौधरी कांग्रेस प्रवेशसँगै प्रतिनिधिसभाको समानुपातिक सूचीमा समेत परेका छन् । ‘प्रधानमन्त्री एवं कांग्रेस सभापतिले आग्रह गरेपछि मुलुकका लागि योगदान गर्न सकिन्छ कि भनेर गएको हुँ,’ चौधरीले कान्तिपुरसित भने ।
फोब्र्सका अनुसार कात्तिक ११ गतेको मूल्यमा उनको सम्पत्ति १ अर्ब ३८ करोड अमेरिकी डलर (करिब १ खर्ब ४० अर्ब रुपैयाँ) छ । फोब्र्सले धनीहरूको तत्कालीन सम्पत्ति (रियल टाइम) आफ्नो वेबसाइटमा सार्वजनिक गर्छ । फोब्र्सको सूचीमा उनी १५ सय ६७ औं नम्बरमा छन् ।
चौधरी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भइसकेका छन् । उनी अध्यक्ष हुँदा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको उदारीकरणमा उनको योगदान थियो । ‘२०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले सल्लाहकार बस्न आग्रह गर्नुभएको थियो,’ चौधरीले भने ।
‘पछि गिरिजाबाबुसँग उदारीकरण र निजी क्षेत्रको भूमिका अर्थतन्त्रमा बढाउन योगदान दिएको हुँ । त्यसैले मेरो कांग्रेससँगको निकटता धेरै पुरानो हो,’ उनले भने ।
फोब्र्सका अनुसार चौधरीले करिब सय कम्पनीको व्यवस्थापन गर्छन् । उनको नेपालमा सबैभन्दा ठूलो आय हुने कम्पनी नबिल बैंक हो । तर, वाईवाई चाउचाउका उत्पादक भनेर उनलाई अधिकांशले चिन्ने गरेका छन् । चौधरीको नवलपरासीको क्षेत्र नम्बर १ अन्तर्गत दुम्कौलीमा चौधरी उद्योग ग्राम छ । बर्दियाबाट पनि वाईवाईको उत्पादन सुरु भइसकेको छ । यसैगरी भारतका ७ ठाउँ र सर्वियामा पनि वाईवाई उत्पादन भइरहेको छ ।
चौधरीलाई कांग्रेसमा ल्याउन शशांक कोइराला र भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले भूमिका खेलेका थिए । त्यसमा सभापति देउवाले तत्काल समर्थन जनाएका थिए ।  खबर आजको कान्तिपुर दैनिकमा छ ।

No comments:

Post a Comment

कैलालीमा शुक्रबार देखि मापसे जाँच शुरु गरिने

कैलाली । कैलालीमा शुक्रबार देखि मादक पदार्थ सेवन चेक जाँच पुनः सुरु हुने भएको छ । कोरोना महामारीका कारण रोकिएको मापसे जाँच शुक्र...