कार्तिक २,काठमाडौं । वर्तमान सरकार र मन्त्रीहरु चुनावको मुखमा बेलगाम भएका छन्। निर्वाचन आचारसंहिता उलंघन गर्दै सरकार विस्तार गरिएको भन्दै गरिएको आलोचना एकातिर छ। त्यसमाथि सरकारका मन्त्रीहरु नै सरकार र प्रधानमन्त्रीको हुर्मत काढ्न उत्रिएका छन्।
मन्त्रीहरुले सामान्यतया प्रधानमन्त्री र सरकारका नीति, योजना र कार्यक्रमहरुको आलोचना गर्न मिल्दैन। मन्त्री त सरकारप्रति रक्षात्मक हुनु पर्ने हो। तर वाम गठबन्धनले सत्ता गठबन्धन भाँडिएपछि सरकारमा विचित्र भैरहेको छ।
प्रमुख प्रतिपक्षी एमालेसँग घाँटी जोड्न गएको सत्तासाझेदार माओवादी केन्द्रको यतिबेला सरकारको नेतृत्व गरेको नेपाली कांग्रेससँग कटुतापूर्ण सम्बन्ध बनेको छ। माओवादीका सबै मन्त्रीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले विनाविभागीय बनाइदिएपछि त मन्त्रीहरु नै प्रधानमन्त्रीको उछितो काढ्न उत्रिएका छन्।
बुधबारको एक कार्यक्रममा माओवादी केन्द्रबाट मन्त्री बनेका महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बारम्बार चुनौती दिदै निकै आलोचना गरे। उनले देउवासँग एक्लै चुनाव गराउने क्षमता नभएको दावी गरे।
मन्त्री शाहीले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन गराउने आँट नभएपछि प्रधनमन्त्री देउवाले कमल थापालाई सरकारमा सहभागी गराएको तर्क गरे। उनले बाम गठबन्धन मुलुकको हितका लागि गर्न लागिएको भन्दै त्यसबाट नअत्तालिन पनि प्रधानमन्त्री देउवालाई चेतावनी दिए।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले चुनाव सार्ने देखिएपछि तत्काल सरकारबाट नहटने निर्णय लिनु परेको पनि स्पष्ट पारे।
मन्त्री शाहीले कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा सहभागी गराउनुको औचित्य पुष्टि गरेर देखाउन पनि प्रधानमन्त्री देउवालाई चेतावनी दिए। उनले राष्ट्र र जनताको हितका लागि सरकारमात्रै होईन् जीवनको बलिदान दिन आफूहरु तयार रहेको पनि बताए।
No comments:
Post a Comment